12/06/2026
यो क्षण शब्दमा बयान गर्न नसकिने खालको थियो—जब महिनाौँको कडा मिहिनेत, अनगिन्ती उकाली-ओराली र हिमालयका चुनौतीपूर्ण बाटाहरू पार गर्दै मेरो 'The Great Himalaya Trail' को यात्रा आफ्नो अन्तिम विन्दु "हिल्सा" पुगेर ठोक्कियो। समुद्र सतहदेखि करिब ३,६४० मिटरको उचाइमा अवस्थित हुम्लाको यो ऐतिहासिक सीमावर्ती गाउँ पुग्दा शरीर थाकेको भए पनि मनमा एउटा बेग्लै गौरव थियो। तर विडम्बना, हातमा समय निकै कम थियो; त्यही दिन नै त्यहाँबाट फर्कनुपर्ने बाध्यताका कारण हिल्सालाई धेरै बेर नियाल्न त पाइनँ, तर जति समय बिताएँ, त्यसले मुटुमा अमेट छाप छोड्यो। तिब्बतको सीमानामै जोडिएको यो ठाउँ केवल एउटा बोर्डर पोइन्ट मात्र होइन, यो त प्राचीन भोटे-नुन व्यापारको साक्षी र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र कैलाश मानसरोवर यात्राको सबैभन्दा चल्तीको 'गेटवे' पनि हो। यहीँबाट तिब्बतमा 'Mapcha Tsangpo' भनिने ऐतिहासिक हुम्ला कर्णाली नदी नेपालको भूगोलमा शक्तिशाली वेगका साथ भित्रिन्छ, जसको सुसाइले त्यहाँको सुख्खा, मरुभूमि जस्तो कडा भूगोल (Rugged Terrain) लाई झनै जीवन्त बनाउँछ। समयको पाबन्दीले गर्दा हिल्साको त्यो चर्चित झोलुङ्गे पुल, आँखै अगाडि देखिने तिब्बती पठारको अद्भूत दृश्य र कर्णालीको त्यो रापलाई हतार-हतार क्यामरा र मानसपटलमा कैद गरेर उति नै खेर ओरालो लाग्नु परे पनि, हिल्सा मेरो जीवनकै सबैभन्दा ऐतिहासिक र महत्त्वपूर्ण गन्तव्य बनेर रहनेछ। नेपालको उत्तर-पश्चिमी कुनाको यो अन्तिम विन्दु वास्तवमै एउटा अनौठो संसार हो!